महालक्ष्मी विकास बैंकको १०२ शाखा पूर्ण रूपमा सञ्चालन

काठमाडौं । जेन्जी आन्दोलनका कारण उत्पन्न जिउधनको ठूलो क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख प्रकट गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी शुभेच्छा व्यक्त गरेको छ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

बैंकले सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने विश्वास व्यक्त गर्दै मुलुकमा शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा अघि बढ्ने अपेक्षा व्यक्त गरिएको छ ।

आन्दोलनमा बैंकको लेकसाइड, पोखरा शाखा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र त्यहाँका बैंकिङ सेवा नजिकैका अन्य शाखा कार्यालयमार्फत उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार लेकसाइड पोखरा शाखा बाहेक देशभरका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा छन् । साथै, डिजिटल बैंकिङ सेवाहरू सुरक्षित रूपमा निरन्तर संचालन भइरहेको जानकारी पनि दिइएको छ ।

You might also like

Comments are closed.