साङ्ग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित मनाएको छ। वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो सफल र गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला पक्ष तथा निकायप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा सांगरिला डेभलपमेन्ट बैंक अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकलाई निरन्तर विश्वास र साथ प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय र शेयरधनीहरूलाई धन्यवाद दिए। उनले विगत वर्षहरूको सफलतापूर्ण यात्रालाई आगामी दिनमा अझ आधुनिक, स्मार्ट र उत्कृष्ट सेवाबाट समृद्ध बनाउँदै ग्राहक–बैंक सम्बन्धलाई थप प्रगाढ बनाइने प्रतिवद्धता जनाए ।

वार्षिकोत्सवको अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन’ अभियान घोषणा गरेको छ । लिड फर नेपाल नामक संस्थासँग सहकार्यमा अघि बढाइने अभियानअन्तर्गत बैंकका १० क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढी–पहिरो प्रभावित नागरिकलाई वितरण गरिने बैंकले जनाएको छ । अभियानअन्तर्गत बैंकले समेत ज्याकेटसहित न्यानो कपडा प्रदान गर्नेछ ।

यस्तै, वार्षिकोत्सवकै दिन आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । साथै बैंकमा ५, १० र १५ वर्ष सेवा अवधि पूरा गर्ने २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

आम नागरिकको विश्वास र सहयोगले सांगरिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय तथा ३० एटीएम मार्फत सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै आएका बैंकले आगामी दिनमा सेवालाई थप विस्तार र मजबुतीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.