काठमाडौं । नेपाल राष्ट्र बैंकले १७५ दिन अवधि रहने गरी कुल रु. ४० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको छ । यसका लागि कात्तिक १६ गते मध्यान्ह २:०० बजेसम्म इलेक्ट्रोनिक प्रणालीमार्फत बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ । निक्षेप संकलनका लागि बोलकबोल प्रणालीअनुसार ब्याजदर निर्धारण गरिनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा “क”, “ख” र “ग” वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । निक्षेप संकलन वापत जम्मा गर्न चाहेको रकम तथा प्रस्तावित ब्याजदर स्पष्ट उल्लेख गरी बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था मिलाइएको छ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई प्राथमिकता दिइने र समान ब्याजदर परेमा अनुपातिक आधारमा रकम बाँडफाँड गरिने बताइएको छ ।
स्वीकृत बोलवालाको खाताबाट सम्बन्धित रकम सोही दिन स्वतः कट्टा भई राष्ट्र बैंकमा छुट्टै खाता खोली जम्मा गरिनेछ। निक्षेप भुक्तानी मिति २०८३ बैशाख १३ गते तोकिएको छ । भुक्तानीको दिनमा स्वीकृत काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यस उपकरणमार्फत संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने भए पनि राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने तरलता अनुपात (SLR) मा भने गणना गर्न सकिनेछ । संकलित निक्षेप रकम भुक्तानी मिति अगावै फिर्ता भुक्तानी वा समायोजन नहुने पनि बैंकले जनाएको छ । विस्तृत जानकारीका लागि सम्बन्धित विभागमा ०१–५७१९६५९ तथा एक्स्टेन्सन २८३३ र २८३६ मा सम्पर्क गर्न सकिनेछ ।








Comments are closed.