गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा ८ स्थानमा बृहत रक्तदान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक गतिविधिहरु सम्पन्न गरेको छ । बैंकले आज मंसिर ७ गते नेपालका ८ स्थानमा गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको जनाएको छ ।

रक्तदान कार्यक्रम इटहरी (सुनसरी), बीरगञ्ज (पर्सा), नारायणगढ (चितवन), बालुवाटार (काठमाडौँ), पोखरा (कास्की), बेनी (म्याग्दी), बुटवल (रुपन्देही) र कोहलपुर (बाँके) गरी ८ स्थानमा सम्पन्न गरिएको थियो ।

यसैगरी, बैंकले वार्षिकोत्सवकै दिन १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायत सामग्री वितरण गरेको छ । साथै, म्याग्दीको श्री निस्कोट स्वास्थ्य चौकीलाई सरसफाइ सामग्री, चन्द्रागिरीस्थित मातातीर्थ वृद्धाश्रमलाई खाद्यान्न सामग्री र चितवनस्थित सत्य साई राष्ट्रिय परिषद् नेपाललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरी कुल १९ वटा सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न गरेको छ ।

यति मात्र होइन, “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित बैंकले हिजो मंसिर ६ गते दोस्रो संस्करणको दौड प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा १,००० भन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ । आगामी वर्षहरूमा पनि यस्ता सामाजिक तथा खेलकुद कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने लक्ष्य बैंकले राखेको छ ।

गरिमा विकास बैंकले आफ्नो १९ वर्षे यात्रामा निरन्तर साथ र समर्थन प्रदान गर्ने ग्राहक, शेयरधनी, नियमनकारी निकाय, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

You might also like

Comments are closed.