अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिदै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिइएको हो ।

यस अन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तैः भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् ।यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरी सो सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न बैंकले आफ्ना संस्थागत ग्राहकसँग आवश्यक सहकार्य समेत गर्ने बताइएको छ ।

डिजिटल भुक्तानीका माध्यमको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् । २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

You might also like

Comments are closed.