काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शैलेश्वर उच्च माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ६ बहेहामा अवस्थित यस विद्यालयमा रहेको अस्थायी शौचालयको अवस्था नाजुक रहेकाले विद्यार्थी तथा शिक्षकले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै बैंकले नयाँ शौचालय निर्माण गरिदिएको छ ।
नवनिर्मित शौचालय विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं.६ का वडाध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयलाई शौचालय निर्माण कार्यमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
उनले आगामी दिनमा बैंकले जस्तै अन्य संघसंस्थाले स्थानीय निकायसंग मिलेर यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे । यहाँ निर्मित ८ वटा शौचालयमध्ये २ वटा शिक्षक तथा कर्मचारी, ३ वटा छात्रा र ३ वटा छात्र विद्यार्थीले प्रयोग गर्ने बताइएको छ ।
बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समस्या भइरहेको जानकारी पाए पश्चात बैंकले विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधारहरु निर्माण गरेको जानकारी दिए । उनले भविष्यमा पनि अन्य यस्ता सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताए । हाल यस विद्यालयमा १८ सय भन्दा बढि विद्यार्थी अध्ययनरत, ३५ जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।






Comments are closed.