काठमाडौं । नेपाल बैैक लिमिटेडले नेपाल प्रहरीको विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोगार्थस्वरुप अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।
बैंकले ९ वटा प्रहरी स्कुलमा अध्ययनरत अमर सहिद, अशक्त प्रहरी कर्मचारीका सन्तति र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ रू.३० लाख आर्थिक सहयोग गरेको छ । सो रकम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले रू.३० लाख बराबरको चेक प्रहरी बरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरेका छन् ।
नेपाल प्रहरीका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरेका छन् ।
Comments are closed.