नबिल बैंकको सहयोगमा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई २ वटा उद्धार वाहन सहयोग गरेको छ ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई वाहन सहयोग गरेको बैंकले जनाएको छ । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको काम उदाहरणिय रहेको बताउँछन् । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाको पनि उत्तिकै उत्तरदायित्व रहेको बताएका छन् ।

बैंकका सिइओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यमा तयार रहेको बताउँदै आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको, भविष्यमा पनि यस्ता कार्यमा साझेदारी गर्न बैंक इच्छुक रहेको बताए । नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आश्रमले बेसहारा बनेका मानिसलाई खाना, सुरक्षा र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए ।

आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिको उद्धार गर्न कठिन भएको अनुभव सुनाए । बैंकबाट प्राप्त गाडले सेवालाई सहज र छिटो बनाउन सहयोग पुग्ने उनी बताउँछन् । “सडक आश्रित व्यक्तिको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो, अब गाडी प्राप्त भएपछि छिटो र छरितो रुपमा सेवा दिइनेछ” उनले भने ।

आश्रमलाई विभिन्न तवरबाट सहयोग पु¥याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन् । उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिको जीवन बचाउन महत्त्वपूर्ण योगदान पु¥याउने बताएकीछिन् ।

२०६९ सालदेखि सञ्चालनमा आएको यस आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७ हजार भन्दा बढीलाई आश्रय दिएको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिको उद्धार, उपचार र पालनपोषणका कार्यहरु दाताको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।

नबिल बैंकका पदाधिकारीले आश्रममा आश्रित लाभग्राहीलाई खाना समेत वितरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अति आवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य सहयोग मात्र नभएर सन्देश पनि हुने भन्दै बैंकले अति आवश्यक क्षेत्रमा सधैँ हातेमालो गर्ने गरेको छ ।

You might also like

Comments are closed.