नविल बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट १९ सय विद्यार्थी लाभान्वित

काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले ७ प्रदेशमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरी वित्तीय साक्षरताबारे जानकारी दिएको छ । मार्च १८ देखि २४ गतेसम्म विश्वभर ‘Protect your money, secure your future’ भन्ने मूल नाराका साथ भएको यस कार्यक्रमबाट १९ सय विद्यार्थी लाभान्वित भएका छन् ।

बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने मनसायले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ । विश्व वित्तीय सप्ताहको सन्दर्भमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता प्रोत्साहन गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशमा ६७३ भन्दा बढी विद्यार्थी, मधेशका २२०, बागमतीका ४२५ भन्दा बढी, लुम्बिनीका १३५, सुदूरपश्चिमका १२० र कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थीले सहभागीता जनाएका छन् ।

नेपाल बैंकर्स एशोसिएशन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी ¥यालिमा करिव ३ सय बैंकर्स साथै सर्वसाधारणको सहभागिता रहेको बैंकले बताएको छ ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट कार्यक्रम गरिएको छ । पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीमाझ २ तहमा प्रतिष्पर्धा गराइएको थियो । अन्तिम नतिजा यसै साता घोषणा गरिदैँछ । यस कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ ।

बैंकले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्न वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

नबिल बैंक नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link