काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार बोलकबोलमार्फत दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम खिच्न लागेको हो।
हाल देशको कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यस्तो अवस्थामा ब्याजदर व्यवस्थापन र वित्तीय प्रणालीको स्थायित्व कायम गर्न राष्ट्र बैंकले समय समयमा निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।
खुला बजार कारोबार अन्तर्गत दीर्घकालीन तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बढीमा ६ महिनासम्मको अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न पाउने व्यवस्था रहेको छ। यही आधारमा राष्ट्र बैंकले पटक–पटक संरचनात्मक खुला बजार कारोबारको माध्यमबाट तरलता व्यवस्थापन गर्दै आएको छ।
आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। बोलकबोलमा काउन्टर पार्टीहरूले प्रस्ताव गरेका ब्याजदरका आधारमा सबैभन्दा कम दरमा बोलकबोल गर्ने पक्षलाई प्राथमिकता दिई रकम बाँडफाँट गरिनेछ।
बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिनेछ। आजको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी २०८२ साल भदौ १ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्न सकिने व्यवस्था छ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अत्यधिक तरलताको अवस्था रोक्न तथा ब्याजदरलाई स्थिर राख्न यस्ता उपकरणहरू प्रयोग गर्दै आएको जनाएको छ।
Comments are closed.