सिटिजन्स बैंकलाई ‘बैंक अफ द ईयर २०२४ को अवार्ड’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन् । समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु गरी करिव ३ सय जना भन्दा बढी सहभागी थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहक सामु ल्याउनको लागि हौसला मिलेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधामा थप गर्ने प्रतिबद्धता जनाए ।

द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकले गर्ने कार्य सम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ । यसैअनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट करिव १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

lcci
You might also like

Comments are closed.