साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थीका लागि आर्थिक सहयोग गरेको छ । विगत लामो समय देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रु. २ लाख ४५ हजार सहयोग हस्तान्तरण गरेको छ ।

बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुतm रुपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा सञ्चालक अर्जुन थापाले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकालाई सहयोग गर्न पाउनु खुशी लागेको बताए । बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाको खाजा र खानाका लागि खर्च गरिने बताएका छन् ।

कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रवन्धकहरु, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सह—कोषाध्यक्ष अशोक लालचन, पुर्व सह— कोषाध्यक्ष लिलबहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङ लगायतका सरोकारवालाको उपस्थिती रहेको थियो ।

एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.