शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा मानन्धरलाई नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ । आउँदो फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

रन टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट www.srdb.com.np मा गई अथवा सिधै https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर फागुन ११ गते दिउँसो १२ः०० बजेसम्म नाम दर्ता गर्न सकिने जनाइएको छ । दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्षसम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरी तीन विधा रहेका छन् ।

लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची, बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, गुल्मी, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, प्युठान, रोल्पा, रुपन्देही) का नागरिकता भएका धावकले मात्र स्थानीय क्याटेगरमा सहभागी हुन पाउनेछन् । लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगीले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्षसम्म र ५० वर्ष भन्दा माथीको गरी दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्य सहित राष्ट्रिय स्तरको दौड प्रतियोगिता घोषणा गरेको बैंकले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले स्वीकृति प्रदान गरेका छन् ।

 

You might also like

Comments are closed.