ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ प्रतियोगिता सञ्चालन गर्न लागेको हो । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

प्रतियोगितामा सहभागि प्रतिष्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ । ग्लोबल आइएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नविनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रतियोगितामा सहभागिता हुन इच्छुकले बैंकको वेवसाइट मार्फत दर्ता गर्नुपर्नेछ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । पहिलो चरणको लागि प्रतियोगिले अप्रिल ४ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्नेछ । साथै, दोस्रो चरणअन्तर्गत मे १ मा अनसाइट ह्याकाथन हुनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

You might also like

Comments are closed.