वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । देशभरीका २९४ शाखा कार्यालयमार्फत १० हजार बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकमाझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी “Think before you follow, wise money tomorrow” नारासहित सञ्चालन गरिरहेको छ । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थी, कर्मचारी, मजदुर तथा कृषकको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछ ।

अभियान अन्तर्गत बैंकले बैंकसँग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामुलक अन्तरक्रिया सञ्चालन हुदैछ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।

 

 

 

 

 

You might also like

Comments are closed.