काठमाडौं । नेपालमा डिजिटल भुक्तानी तीव्र गतिमा विकास भइरहेको छ र विगत केही वर्षयता यस क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । वित्तीय कारोबारको शैलीमा परिवर्तन ल्याउने डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्वपूर्ण लगानी गर्दै आएका छन् । यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ ।
नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा सिद्धार्थ बैंक सकारात्मक र अग्रगामी भूमिका खेल्दै आएको छ । डिजिटल उपकरण जस्तै एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले विशेष प्राथमिकता दिएका छन् । यही निरन्तर प्रयास र ध्यानका कारण बैंकको डिजिटल भुक्तानी सेवामा प्राप्त उपलब्धि प्रभावशाली रहेको छ ।
एटिएममार्फत कारोबार
नेपालभर हाल ५ हजार २६३ वटा एटिएम सञ्चालनमा रहेका छन्, जसमा सिद्धार्थ बैंकको एटिएम संख्या २२९ छ, जुन कुल संख्याको करिब ४ प्रतिशत हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अवधिमा देशभरका एटिएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोही अवधिमा सिद्धार्थ बैंकका एटिएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ७ प्रतिशत हिस्सा रहेको छ । एटिएम संख्यामा ४ प्रतिशतको हिस्सा हुँदाहुँदै पनि कारोबारको रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्न सफल हुनु बैंकको प्रभावकारी सेवा र निरन्तर अनुगमन प्रणालीको परिणाम हो ।
बैंकले एटिएम सेवा सहज र भरपर्दो बनाउनका लागि एक छुट्टै इकाइमार्फत एटिएम सञ्चालन र प्रदर्शनको नियमित निगरानी गर्दै आएको छ । यसरी निरन्तर निगरानी, तत्परता र प्रभावकारी समन्वयका कारण सिद्धार्थ बैंकका एटिएमले आफ्ना ग्राहकका साथै अन्य बैंकका ग्राहकलाई पनि सहज र विश्वासिलो सेवा प्रदान गर्दै आएका छन् ।
मोबाइल बैंकिङ
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल करिब २ करोड ७७ लाख पुगेको छ । एउटै व्यक्तिले विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्या समग्र प्रयोग प्रवृत्तिलाई झल्काउँछ । सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन् जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, समीक्षा अवधिमा सम्पूर्ण बैंकको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।
सोही अवधिमा सिद्धार्थ बैंकका मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ। ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान रहनु बैंकका ग्राहकको मोबाइल बैंकिङ प्रयोगमा सक्रियता र विश्वासको प्रतीक हो । बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि बैंकले प्रविधिमा उल्लेख्य लगानी गरेको छ र मोबाइल बैंकिङ प्रणालीको कार्यक्षमता बढाउन नियमित सुधार र परिमार्जन गर्दै आएको छ ।
साथै सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ । ग्राहकलाई सहज रूपमा डिजिटल कारोबारमा सहभागी गराउन बैंकले निरन्तर प्राविधिक सुदृढीकरण र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । यसले बैंकको डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै देशको डिजिटल वित्तीय प्रवाहमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
प्ले स्टोरमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंक स्मार्ट एक्सपिको रेटिङ ४.२ बाट सुधार भएर ४.६ स्टारमा पुगेको छ । त्यस्तै, एप स्टोरमा पनि रेटिङ २.९ बाट बढेर ४.६ स्टारमा पुगेको छ । यी उल्लेखनीय सुधारका परिणामस्वरूप बैंक स्मार्ट एक्सपि नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ ।
डेबिट कार्ड
हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन् । तीमध्ये सिद्धार्थ बैंकले मात्र ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ । गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको बजार हिस्सालाई ७ प्रतिशतमा स्थापित गरेको छ ।
क्रेडिट कार्ड
हालसम्म बैंकले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ । यस आधारमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकले क्रेडिट कार्ड क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि लक्षित ग्राहक वर्गलाई ध्यानमा राखी उपयुक्त योजनाहरूको साथ कार्ड वितरण गरिँदै आएको छ । साथै बैंकले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ग्राहकलाई विविध छुट र सुविधाहरू उपलब्ध गराइरहेको छ ।
बैंकको सिद्धार्थ रिवार्डस् प्लेटफर्म मार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ, जसले कार्ड प्रयोगलाई जीवनशैली–अनुकूल बनाएको छ । सिद्धार्थ बैंकले क्रेडिट कार्ड सेवामा सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई सरल र प्रयोगमैत्री बनाएको छ । यसले ग्राहकलाई सहज भुक्तानी अनुभव प्रदान गर्दै, डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्याइरहेको छ ।
प्रिपेड कार्ड
हालसम्म बैंकले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरिसकेका छन् तीमध्ये सिद्धार्थ बैंकको हिस्सा १४५ अर्थात् ३४,२२४ कार्ड रहेको छ । कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८५ छ । सिद्धार्थ बैंक प्रिपेड कार्ड सेवालाई सहज, भरपर्दाे र ग्राहकमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ ।
बैंकले कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम गर्दै आएको छ । यसले ग्राहकले आवश्यकता अनुसार सहजै कारोबार गर्न सक्ने वातावरण तयार गरेको छ । साथै, बैंकले नयाँ सुविधाहरू र अपडेटहरू समयमै उपलब्ध गराउँदै ग्राहक अनुभव अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिँदै आएको छ ।
भर्चुअल ई–कम तथा के्रडिट कार्ड
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ । जसलाई मोबाइल बैंकिङको ईजीबैंक सेवामार्फत प्रयोग गर्न सकिन्छ । यस कार्डको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झटमुक्त र सजिलो भएको छ । त्यति मात्र होइन, बैंकले चाँडै सिद्धार्थ फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसबाट ग्राहकहरूले क्यूआर स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन् । यी डिजिटल सेवाहरूले ग्राहकहरूलाई समय र स्थानको कुनै सीमा बिना सहज रूपमा कारोबार गर्न मद्दत पुर्याउनेछन् । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ ।
वृद्धिदर
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटिएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेर आफ्नो सेवा पहुँच विस्तार गरेको छ । बैंकले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशतले वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ । क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९,९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ, जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ ।
सिद्धार्थ बैंकले डिजिटल भुक्तानीमा निरन्तर योगदान पुर्याउँदै आएको छ । बैंकले प्रयोगकर्तामैत्री भुक्तानी प्रणालीको विकास र नियमित अद्यावधिकमा जोड दिँदै आएको छ । ग्राहकहरूले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न सकून् भनेर बैंकले प्रशिक्षण, जानकारी र सिकाइका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । यसरी बैंकले डिजिटल भुक्तानीका प्रत्येक चरणमा ग्राहकहरूलाई बुझाउने र सिकाउने प्रयासले सेवा अनुभवलाई प्रभावकारी बनाइरहेको छ र डिजिटल बैंकिङ प्रविधिको प्रयोगलाई अझ सुदृढ बनाइरहेको छ ।








Comments are closed.