‘युवा महत्वाकांक्षी बन्दा संभावना र सिर्जशीलता भन्ने कुरा बिर्सिए’

भनिन्छ, मुलुकको समृद्धिका संभावना युवाका काँधमा हुन्छन् तर हाम्रो परिभेष र अभ्यासलाई हेर्दा युवाको निष्किृयता डर लाग्दो छ । युवामा हराएको सिर्जशीलता र सपनाले भोलि देश कुन बाटोमा जाला ? यसको चिन्ता गर्ने बेला शुरू भएको छ । समाजमा माथि भनिएभन्दा अपवाद पनि छन् । रामेछापका युवा उद्यमी तथा सामाजिक अभियान्ता विपिन भट्टराई हरेक कुरामा संभावना देख्छन् । हरेक कुरामा आफ्नो धारणा बनाउन सक्षम उनी संभावनाको थुप्रोमा हराएका निष्किृय युवा थोरै मात्र पनि सक्रियता देखाउन सके समस्या टाढिने बताउँछन् । उनीसँग हामीले समस्या, अभ्यास, संभावना र प्रयासका सन्दर्भका कुराकानी गरेका छौं ।

तपाई साना साना कुरामा सृजनशीलता खोज्नु हुन्छ तर अहिले युवा पंक्ति अन्यत्रै भौतारिएको देखिन्छ किन यस्तो भए होला ?

हामी कहाँ संभावना धेरै छन् तर ती साना साना नै छन् । एउटै संभावनामा हामी अडिन र त्यसबाट गुजारा चलाउन सक्दैनौं । हामी सामान्य कुरालाई ध्यान दिएका हुन्नौं तर तिनै सानासाना कामबाट धेरै कमाउन सकिने अवस्था छ । थोरै थोरै समय दिएर हरेक कामबाट थोरै थोरै कमाउँदा पनि धेरै आर्जन गर्न सकिन्छ भन्ने कुरामा मैले विश्वास राख्छु । अहिलेको युवा पंतिले जागिरलाई धेरै विश्वास गर्छ त्यसबाहेकका संभावनाको खोजी गर्दैन त्यो एउटा कमजोरी हो । हामीले योजना बनाएर कुन समयमा के गर्ने र कुन कामलाई कति समय दिने भन्ने कुरामा ध्यान दिइयो भने , हामसँग अवसर धेरै छन् हामी राम्रो आर्जन गरेर जिविका चलाउन सक्छौं ।

jutta mela

त्यसो त युवाले विकल्पहरूमा ध्यानै दिएका छैनन् भन्न पनि मिल्दैन तर विलासी बन्ने र आफूले देखे सुनेकै भरमा महत्वकांक्षी बनेर, आफ्नो योग्यता, क्षमता, आवश्यकता, प्राथमिकता केही ख्याल नगरेर एकै पटक ठूलो काम र धेरै कमाउने सपना देख्दा त्यसको तादम्यता मिल्न सकेको देखिन्न । इमान्दारिता र धैर्यता कायम राख्न सके मासिक ५० हजार देखि १ लाख रुपैयाँसम्म सहजै कमाउन सकिने संभावना मैले देख्छु ।

अहिलेको अवस्थामा युवा सामाजिक उत्तरदायित्व प्रति कति जिम्मेवार छन् ? उनीहरुले कसरी दायित्व पुरा गर्न सक्छन् ?

युवा सामाजिक उत्तरदायित्व जिम्मेवार छैनन् । पछिल्लो पुस्ताको हुर्काइ र परिवारमा गरिने व्यवहारको कारण पनि समाज प्रति जिम्मेवार देखिन्नन् । पहिलो कुरा त उनीहरुमा परिवार प्रतिको दायित्व भन्ने नै थाहा छैन, झन् समाज प्रति के चिन्तित हुन्थे, अर्को कुरा परिवारमा उनीहरुलाई गर्ने मायाका नाममा बनाइएको परनिर्भरता र फरक संस्कारको सिकाई सामाजिक रुपमै देखिएको हो । काम नगर्ने फुर्ति गर्ने परिपाटी छ । युवामा आफ्नो स्वार्थ मात्र हावी देखिन्छ, युवालाई केही गरौं न भन्ने हो भने यसबाट के पाइन्छ भन्ने परिपाटी छ । सामाजिक सेवाबाट समाज सुधार्न सकिन्छ भन्ने मान्यता नै युवामा देखिन छाड्यो ।

युवामा सामाजिक दायित्व स्थापित गर्नको लागि उनीहरुको काम, कर्तव्य, भूमिका, अधिकारका बारेमा विद्यालय शिक्षा देखि नै समेट्दै लैजानु उपयुक्त हुन्छ । विद्यालयले कोर्स पढाएर जिपिए कसरी बढी ल्याउने भन्ने सिकाइन्छ तर व्यवहारिक सामाजिक अभ्यासको बारेमा सिकाइन्न । विद्यार्थीलाई उनीहरुले सक्ने सामाजिक कामका बारेमा त हामीले घर तथा विद्यालयमा सिकाउन सकिन्छ नि तर त्यस तर्फ कसैको ध्यान पुग्दैन । उदाहरणको लागि बाटोमा हिँड्दा वृद्धवृद्धाको सेवा, बाटोको फोहोर तथा ढुंगा पन्छाउने, आफ्नो टिफिनको पैसाबाट आवश्यक परेकालाई सहयोग गर्ने लगायत सामान्य तर महत्वपूर्ण काम विद्यार्थीलाई गराउन सकिन्छ तर अभिभावक तथा शिक्षकमा विद्यार्थीले यत्ति त गरिहाल्छ नि भन्ने हुन्छ, जुन विद्यार्थीले गरेको हुन्न ।

अहिले बरोजगारी संभावना व्याप्त छ, रोजगारीका संभावना खोज्ने कुरामा युवा कति सचेत छन् ?

अहिले बेरोजगारी समस्या व्याप्त छ , युवाहरु आफूलाई बेरोजगार ठान्ने तर कसरी स्वरोजगार बन्न सकिन्छ भन्ने तर्फ खोज गर्ने धैर्यता छैन । रोजगार हुनु मात्र ठूलो कुरा होइन स्वरोजगार बन्नु महत्वपूर्ण हो भन्ने कुरा बुझ्न जरुरी छ । आर्थिक अवस्था अनुसार विदेशिने प्रवृत्ति नै बन्यो । धेरै युवालाई यही केही गरौं न भन्दा यहाँ केही देख्दैन, विदेश नै जानुपर्छ भन्ने मान्यता छ । विदेश गएर कमाएको पैसा उतै खर्चने, अलिकति बचाएको अवस्थामा यता परिवार केही सुखमा बस्ने मात्र भएको छ । उताको कमाइ यता उत्पादनशील काममा लगाइएको अथवा सिप नेपालमा लगाएको भए मुलुक धेरै अगाडि बढ्थ्यो त्यो अभ्यास देखिएन ।

स्थानीयस्तरमै कुनै उद्यममा संलग्न भएर अगाडि बढ्न खोज्दा कस्ता कस्ता व्यवसाय तपाईको सुझावमा पर्छन ?

नेपालमा स्थानीय कच्चापदार्थमा आधारित उद्योगधन्दा खोल्दा रोजगार सहज हुन्छ र लागत कम पनि हुन्छ । मानौं कम्पोष्ट मलको बनाउने उद्यम गर्ने हो भने हामीले आवश्यक कच्चा पदार्थ त यही आगो लगाएर नष्ट गराइने वनपैदावारबाट लिन सकिन्छ । यसले स्थानीयको आम्दानी पनि बढ्छ, कम्पोष्ट मलले अन्य मललाई विस्थापित गर्न पनि सकिन्छ । पहाडमा इस्कुस यत्तिकै नास हुँदै गएको पाइन्छ यसबाट तरकारी भन्दा अन्य प्रयोजनको लागि प्रयोग गर्न सकिने कुरामा हामीले सोंचेका हुन्नौं । पशुका लागि आवश्यक दाना स्थानीयस्तरमै गर्न सक्छौं, यस्ता धेरै विकल्प छन् जसमा हाम्रो ध्यान पुगेको देखिन्न ।

युवालाई व्यवसायमा आकर्षित गराउन तहगत सरकारहरू छन् तिनको भूमिका के हुन्छ ? कस्ता कार्ययोजना बन्नुपर्छ ?

स्थानीयस्तरमा उद्योग सञ्चालनको लागि दर्ता प्रकृया, विजुली थ्रिफेज जोड्न लागत लाग्ने लगायतका प्रकृया छन् । यसलाई समाधानको लागि स्थानीय तहले औद्यागिक ग्रामको व्यवस्था गर्ने, आवश्यकताका आधारमा युवालाई अस्थायी स्वीकृति दिएर उनीहरुलाई उद्यम गर्न दिने र पछि स्थायी स्वीकृति दिने गर्न सकिन्छ । जसरी हो केही गर्ने आँट भएका युवालाई सरकारले सहजिकरण गर्नुपर्छ । अहिले त केही गर्ने सोंच भएका युवालाई सहयोग गरेर उत्साहित बनाउन भन्दा पनि निरुत्साहित बनाउने काम भएको छ । स्थानीय सरकारले उद्यमशीलताको लागि बजेट छुट्याउनुपर्छ । स्थानीय तहमा आएको बजेट बाटो बनाउन मात्र खर्च गरिएको छ । गर्नुपर्ने त स्थानीयको आर्थिक उपार्जन कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिने हो, आर्थिक रुपमा सक्षम भएपनि उनीहरुले घर अगाडिको बाटो त आफै बनाइहाल्छ नि । स्थानीय तह पनि सृजनशील बन्न सक्नुपर्यो । स्थानीय तहले घरेलु उद्यममा प्रोत्साहन गर्ने र विस्तारै प्रदेश तथा संघमाफर्त स्टार्टअप व्यवसायमा स्तरोन्नतिको लागि सहजिककरण गर्नुपर्छ ।

युवामा एउटा योग्यता छ तर उसलाई व्यवपार, व्यवसाय कसरी गर्ने भन्ने कुराको ज्ञान हुन्न । व्यवसाय गर्दा त्यसको संभावना, बजारीकरण, उत्पादन प्रकृया लगायतका कुरामा अध्ययन गर्नुपर्छ र सरकारले पनि त्यसमा सहजिकरण गर्नुपर्छ । तर अहिले त केही नबुझेरै लगानी गर्ने काम भएको छ । उद्यम शुरू गर्दा त्यसको बारेमा धेरै जानकारी हासिल गर्नुपर्छ ।

हामी प्रविधिको पहुँचको हिसावले परिस्किृत बन्दै गएका छौं तर त्यसको फाइदा उठाउन सकेका छैनौं, प्रविधिलाई उद्यमशीलतामा जोड्न कसरी सकिएला ?

प्रविधका हिसावले हामी अगाडि छौं तर त्यसलाई प्रयोग गर्ने व्यवहारिक कुरालाई ध्यान दिएका छैनौं । अहिले हामीले प्रविधिको उपभोग गरेर धेरै काम सहज रुपमा गर्न सक्छौं । प्रविधिको प्रयोगलाई उत्पादनशीलता र सृजनशीलतासँग जोड्न जरुरी छ । हामी प्रविधिकै कारण विश्व बजारसँग जोडिने संभावना पनि छ । मात्र कसरी फाइदा लिने भन्ने कुरामा सचेत हुनु महत्वपूर्ण कुरा हो ।
युवाले स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुरामा म विश्वास गर्छु । एकै पटक हुने होइन विस्तारै सानो कामबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने लाग्छ । काममा इमान्दार भएर लाज नमानेर काम गरेको अवस्थामा उद्यमशीलतामा अगाडि बढ्न सकिन्छ । हामीलाई बजारीकरणको सिप तथा शैली आवश्यक छ ।

You might also like

Comments are closed.