शिक्षा, महिला सशक्तीकरण र वित्तीय क्षेत्रमा सृजना विकास केन्द्रको योगदान अग्रणी छः थापा

कृष्ण थापा, अध्यक्ष, सृजना विकास केन्द्र

पोखरामा केन्द्रीय कार्यालय स्थापना भएर सञ्चालनमा रहेको सृजना विकास केन्द्रले नेपालकै उत्कृष्ट सामाजिक संस्थाको पहिचान बनाउन सफल छ । २०३७ मा स्थापना भएको संस्थाले महिला सशक्तीकरण, शैक्षिक उन्नयन, सामाजिक तथा वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । यसै सन्दर्भमा संस्थाका अध्यक्ष कृष्ण थापासँग संस्थाका गतिविधिमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

सृजना विकास केन्द्र कस्तो संस्था हो ?

२०३७ मा सामाजिक संस्थाका रुपमा सृजना विकास केन्द्र स्थापना भएको हो । त्यो समयमा यहाँका स्थानीय युवाहरुको नेतृत्वमा सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्ने गरी संस्था स्थापना भएको हो । संस्था स्थापनाको चार दशक भन्दा बढी भइसकेको छ । सामाजिक क्षेत्रमा संस्थाले पुर्याएकोे योगदान महत्वपूर्ण रहदै आएको छ ।

jutta mela

संस्थाले हालसम्म गरेका महत्वपूर्ण कामहरु के-के छन् ?

संस्थाले २०४४ सालमा सृजना बहिरा विद्यालय स्थापना गर्न सफल भयो । जुन नेपालकै पहिलो बहिरा विद्यालय हो । २०५८ मा व्यवस्थापन समूह बनाएर स्वायत्त रुपमा हस्तान्तरण गर्यौं । जुन स्कुल एसियाकै पहिलो बहिरा आवासीय विद्यालय बन्न सफल भएको छ । उच्च शिक्षा प्रदान गर्ने मुख्य लक्ष्यका साथ सृजना विकास केन्द्रको सक्रियता र पहलमा २०४८ मा जनप्रिय बहुमुखी क्याम्पस स्थापना भयो । २०६४ मा बालगृहको स्थापना गर्न संस्था सफल भयो । सृजना खानेपानी बोरिङमार्फत महतगौंडामा खानेपानी वितरणसमेत गरिरहेका छौं । २०५१ सालबाटै महिलालाई लक्षित गरी सृजना महिला लघुवित्त सञ्चालन गर्यौं । अहिले नेपाल राष्ट्रबैंकको नीति अनुसार स्तरउन्नति र मर्जर गर्दै संस्था जाल्पा लघुवित्त मार्फत सेवा प्रदान भइरहेको छ । जहाँबाट एक लाख भन्दा बढी महिलाले सेवा लिइरहेका छन् । खेलकुदका क्षेत्रमा २०४४ देखि नै काम गर्दै आइरहेको छ । संस्थाको अगुवाइमा सृृजना रनिङसिल हुँदै आइरहेको छ । सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता अहिले वर्षेनी भइरहेको छ । स्वास्थ्य शिविर, नेतृत्व विकास, स्थानीय धर्मसंस्कृति संरक्षणका लागि विविध कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम संस्थाले निरन्तर गर्दै आइरहेको छ ।

संस्थाबाट सञ्चालित बालगृहले पछिल्लो समयमा कसरी सेवा प्रदान गर्दै आइरहेको छ ?

तत्कालीन समयमा दशवर्षे युद्धमा बाबुआमा गुमाएका बालबालिकालाई लक्षित गरी बालगृह स्थापना भएको हो । जुन बालगृहमा अहिलेसम्म पनि बालबालिकाहरु आश्रित छन् । पोखराको महतगौंडामा बालगृह छ । जहाँ संस्थाले आफ्नै भवनसमेत निर्माण गरिसकेको छ । अहिले पनि संस्थामा १७ बच्चाहरु छन् । नेपाल सरकारको मापदण्ड अनुसार बालगृह सञ्चालन भइरहेको छ । बालगृहको स्थापनामा डोनरहरु थिए । १० वर्षसम्म डोनरहरु मार्फत बालगृह चल्यो । चारवर्षदेखि संस्थाले आफ्नै स्रोतबाट चलिरहेको छ । यसलाई दीगो रुपमा सञ्चालन गर्नुपर्ने चुनौति पनि छ । द्वन्द्व पीडित बालबालिका लागि बालगृह एउटा अभिभावकीय नेतृत्व प्रदान गर्न सफल छ । बालगृहका लागि अब राज्यका निकायहरुबाट पनि सहयोग हुन जरुरी छ ।

तपाईंको कार्यकालमा संस्थाले कसरी काम गरिरहेको छ ?

बिगतमा हाम्रा अग्रजहरुबाट सुरु भएका कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छौं । केही कार्यक्रमलाई अझै परिस्कृत र समयसान्दर्भिक बनाउँदै अगाडि बढेका छौं । विशेष गरी सामाजिक संस्था भएकाले सामाजिक क्षेत्रमा नै सक्रियताका साथ हामीले काम गरिरहेका छौं । सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाउन सफल संस्था भएकाले अन्तर्राष्ट्रिय पहिचान हुने गरी थप कार्यक्रम गर्ने तयारीमा हामी छौं ।

संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

सेवामुखी र जनमुखी कार्यक्रम भइरहेका छन् । हाम्रो संस्थामार्फत धेरै भन्दा धेरै सामाजिक कार्यक्रम गर्ने योजनाहरु बनिरहेका छौं । म अहिले संस्थाको १६औं अध्यक्ष भएर काम गरिरहेको छु । हालसम्म अग्रजहरुले संस्थामा पुर्याएको योगदान अतुलनीय छ । विशेष गरी पोखराको समग्र विकासमा नै यो संस्थाको योगदान विशेष छ । लागुपदार्थ दुव्र्यसनीको अन्त्य, महिलाहरुमा सिप विकाससहित शैक्षिक तथा सामाजिक क्षेत्रमा संस्था नेपालमा नै अग्रणी छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

युवाहरुलाई सामाजिक क्षेत्रमा लाग्नका लागि हाम्रो संस्थाले प्रोत्साहन गर्दै आइरहेको छ । सामाजिक क्षेत्रमा देखावटी भन्दा पनि प्रभावकारी कार्यक्रमहरु गर्न जरुरी छ । सामाजिक क्षेत्रमा हाम्रो संस्था आफ्नो ठाउँबाट निरन्तर सक्रिय रहन्छ । सामाजिक काममा लागि हातेमालो गर्न म सबैमा आग्रह गर्दछु । मनैबाट सामाजिक कार्य गर्ने भावनाको विकास सबैमा हुन जरुरी छ ।

सृजना विकास केन्द्रको बर्तमान कार्यसमिति

अध्यक्षः कृष्ण थापा
निबर्तमान अध्यक्षः ईन्द्रप्रसाद पौडेल
प्रथम उपाध्यक्षः कृष्णमान पुसाजू
उपाध्यक्षः बिक्रम नारायण बिजुक्छे
महासचिवः विश्व श्रेष्ठ
सचिवः भीम पौडेल
कोषाध्यक्षः कृष्णप्रसाद बराल
सदस्यहरुः साबित्री बराल, बिक्रम पुसाजू, मुक्ति सुवेदी, दानबहादुर गुरुङ

You might also like

Comments are closed.